सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति देखिएको विश्वास र माया अब मतमा परिणत गर्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार राजीव कोइरालालाई विजयी गराउन नेता–कार्यकर्तासँग अपिल गरे।
सभापति थापाले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यही विश्वासलाई भोटमा बदल्दै यस क्षेत्रबाट राजीव कोइराला दाइलाई जिताइदिनुहोस्। बाँकी जिम्मेवारी पूरा गर्ने काम हाम्रो हुनेछ।”
उनले चुनावी मैदानमा जनतासामु जाँदा कांग्रेसले विगतमा गरेका काम र पूरा गरेका प्रतिबद्धताबारे स्पष्ट रूपमा जानकारी गराउन निर्देशन दिए। “कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने कुरा जनतालाई बताइदिनुहोला,” उनले भने, “म तपाईंहरूको विश्वासमा उभिएको छु। हामीले भनेका धेरै काम पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ भन्ने सन्देश घर–घरमा पुर्याउनुस्।”
सभापति थापाले अहिले निर्वाचन आचारसंहिताका कारण विस्तृत रूपमा धेरै विषयमा बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गरे। त्यसका बाबजुद पनि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा कांग्रेस स्पष्ट योजना र आधारसहित अघि बढ्ने उनको भनाइ थियो।
उनले कांग्रेसलाई अब परिणाम दिने पार्टीका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठनलाई एकताबद्ध भएर लाग्न आग्रह गरे। चुनाव केवल उम्मेदवारको मात्र नभई पार्टीको विश्वसनीयता र आगामी दिशासँग जोडिएको विषय भएको उनले बताए।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन सक्रिय रूपमा परिचालन हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
सभापति थापाको भनाइले चुनावी अभियानलाई थप ऊर्जा मिल्ने विश्वास कांग्रेस वृत्तले गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरू यतिबेला विभिन्न जिल्लामा पुगेर चुनावी माहोल तताइरहेका छन्।