विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रमा प्रहरीले हतियार तथा सञ्चार उपकरणसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार बेलुका छापा मारेर पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले सुन्दरहरैचा–२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुको घरमा खानतलासी गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खानतलासीका क्रममा लिम्बुको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, बाओफेङ ब्रान्डका दुई थान हेण्डसेट तथा एक थान भरुवा बन्दुक फेला परेको हो।
प्रहरीको प्रारम्भिक सोधपुछमा लिम्बुले उक्त हतियार तथा सञ्चार सेट सुन्दरहरैचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको बताएका थिए। त्यसलगत्तै प्रहरी टोली गुरुङको घर पुगेको र उनलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ।
दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। हतियार किन राखिएको थियो, यसको प्रयोग वा सम्भावित आपराधिक गतिविधिसँग सम्बन्ध थियो वा थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
मोरङका प्रहरी प्रवक्ता हरिनन्दन चौधरीका अनुसार बरामद गरिएका सामग्रीको कानुनी अवस्थाबारे पनि जाँच भइरहेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।