रौतहट । देवाही गोनाही नगरपालिकामा खेतमा घाँस काट्ने विषयबाट सुरु भएको सामान्य विवाद झडपमा परिणत हुँदा तीन महिला गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार राति वडा नम्बर–५ टीकुलिया गाउँमा भएको कुटपिटमा महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी तथा बचेलाल मुखिया बिनकी श्रीमती ४० वर्षीया अनतिया बिन घाइते भएका हुन्।
घाइतेमध्ये अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ। अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। तीनै जनालाई उपचारका लागि कलैयास्थित ए प्लस अस्पतालको आईसीयूमा राखिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था सुधारोन्मुख छ।
घटनामा संलग्न रहेको आरोपमा ४० वर्षीय शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार विवादको जड आइतबारको घटनासँग जोडिएको छ। महेश तिवारीको तोरीबारीमा शंकर रायको घरका महिलाले घाँस काटेको विषयमा असन्तुष्टि जनाउँदै अस्मिता तिवारीले सोमबार साँझ गुनासो गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो। उक्त भनाभन पछि झडपमा परिणत भएको बताइएको छ।
आरोपअनुसार, विवाद चर्किएपछि शंकर राय यादव, उनका छोरा शम्भु यादव र परिवारका अन्य सदस्यहरू तिवारीको घरमा प्रवेश गरी कुटपिट गरेका थिए। झगडा छुट्याउन पुगेकी छिमेकी अनतिया बिनसमेत आक्रमणमा परेकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी तथा कानुनी प्रक्रिया अघि बढाइएको उपरीक्षक रिजालले बताए।