रौतहट । वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा पुगेको संयुक्त टोली र स्थानीय व्यापारीबीच झडप भएको छ। ढुंगामुढाबाट एक सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोली विशेष सूचनाका आधारमा गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्ने तयारी भइरहेका बेला व्यापारीहरूले विरोध जनाएपछि विवाद चर्किएको सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले बताए।
व्यापारीहरूले सामानको वैध बिलबिजक हुँदाहुँदै दुःख दिन खोजिएको आरोप लगाएका छन्। तर बिल देखाउँदा पनि सामान नियन्त्रणमा लिन खोजेपछि आक्रोशित समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको सशस्त्र प्रहरीको भनाइ छ।
ढुंगा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा फुटेको छ। घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
संयुक्त टोलीले गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको जनाएको छ। बरामद वस्तुको विवरण संकलन र मुचुल्का उठाउने काम भइरहेको डीएसपी अधिकारीले बताए। गोदामको स्वामित्वबारे पनि अनुसन्धान जारी रहेको उनले जानकारी दिए। सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका उपरीक्षक मोहन केसीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
यता, स्थानीय व्यापारीहरूले भने वैध व्यवसायीलाई समेत तस्कर सरह व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।