सिरहा । जनता समाजवादी पार्टी, नेपाल का केन्द्रीय सचिव तथा पूर्वमन्त्री सुरेशकुमार मण्डलले सिरहा निर्वाचन क्षेत्र नं. ४ मा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
शनिबार सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–३, इटारी प्रसाहीमा आयोजित पार्टीको आन्तरिक परामर्श बैठकलाई सम्बोधन गर्दै मण्डलले सिरहा–४ जनता समाजवादी पार्टीको ऐतिहासिक र राजनीतिक गढ भएको उल्लेख गरे।
उनले भने, “सिरहा–४ केवल निर्वाचन क्षेत्र मात्र होइन, मधेश आन्दोलन, समावेशिता र पहिचानको राजनीति बोकेको क्षेत्र हो। यहाँका जनताले विगतदेखि नै जसपाको विचार, संघर्ष र योगदानलाई समर्थन गर्दै आएका छन्। यो विरासतलाई यसपटक पनि मतदाताले निरन्तरता दिनेमा हामी विश्वस्त छौँ।”
पूर्वमन्त्री मण्डलले पछिल्ला दिनमा देखिएको राजनीतिक प्रतिस्पर्धाबारे टिप्पणी गर्दै रास्वपा संघीयता विरोधी दल भएको आरोप लगाए। “संघीयता मधेश र पिछडिएका समुदायको अधिकारसँग जोडिएको मुद्दा हो। संघीयताको विरोध गर्ने शक्तिले सामाजिक सञ्जालमा जति हल्ला फैलाए पनि जनताले विवेकपूर्ण निर्णय लिनेछन्,” उनले स्पष्ट पारे।
उनका अनुसार सामाजिक सञ्जालमा सिर्जना गरिने भ्रम र प्रचारले स्थानीय यथार्थ र मतदाताको चेतनालाई प्रभावित गर्न नसक्ने दाबी गर्दै जसपाले संगठन सुदृढीकरण, घरदैलो अभियान र प्रत्यक्ष संवादमार्फत जनताको विश्वास अझ मजबुत बनाइरहेको छ।
बैठकमा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले सिरहा–४ मा पार्टी संगठन बलियो रहेको, जनतामा जसपाप्रति सकारात्मक धारणा कायम रहेको र चुनावी अभियानलाई थप व्यवस्थित बनाउने विषयमा सुझावहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तहदेखि क्षेत्रीय स्तरसम्म अभियानलाई प्रभावकारी बनाउने, युवाहरू र महिला सहभागिता बढाउने तथा पार्टीको घोषणापत्र जनतामाझ स्पष्ट रूपमा लैजाने रणनीतिबारे पनि छलफल भएको थियो।