काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं–३ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लीलानाथ श्रेष्ठलाई उम्मेदवार बनाएको छ। संगठन, संघर्ष, संसद र सरकार—सबै क्षेत्रमा लामो अनुभव बटुलेका श्रेष्ठ क्षेत्रभित्र एक प्रभावशाली र अनुभवी नेताका रूपमा व्यापक चर्चामा छन्।
सिरहा जिल्लाको गोलबजार नगरपालिका–७ स्थायी घर भएका श्रेष्ठले २०३७ सालमा विद्यार्थी आन्दोलनमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो। अनेरास्ववियू सप्तरी जिल्ला कमिटी सदस्य रहँदा २०३७ साल चैत १४ गतेको नेपाल बन्दका क्रममा उहाँले जेल जीवनसमेत भोग्नुभएको थियो। त्यस घटनाले उहाँको राजनीतिक चेतना र प्रतिबद्धता अझ सुदृढ बनेको नेताहरू बताउँछन्।
श्रेष्ठले २०४१ सालमा नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सह–सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसपछि २०४८ सालमा युवा संघ नेपाल सिरहा जिल्ला सचिव, २०५१ देखि २०७१ सालसम्म जिल्ला कमिटी सदस्य, २०६३ सालमा जिल्ला सचिव तथा २०६७ सालमा जिल्ला अध्यक्षको भूमिका निर्वाह गर्नुभयो।
२०७१ सालको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित श्रेष्ठ २०७८ सालमा पोलिटब्युरो सदस्य बनेका थिए। हाल उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ।
राजनीतिक नेतृत्वसँगै श्रेष्ठले क्षेत्रीय विकासमा पनि सक्रिय भूमिका खेल्दै आउनुभएको छ। सडक, पुल, स्वास्थ्य संस्था तथा शिक्षासम्बन्धी पूर्वाधार निर्माणमा उहाँको समन्वय र पहल उल्लेखनीय रहेको स्थानीयहरू बताउँछन्। दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका श्रेष्ठले पाँचवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको अनुभव पनि राख्नुहुन्छ।
जनताको सेवा र क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै फेरि प्रतिनिधिसभा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठप्रति क्षेत्र नं–३ मा जनसमर्थन बढ्दो देखिएको छ।