सिराहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। उनका सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, बालेन शाहले सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा स्थानीय जनतासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। उनको यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ। त्यसपछि कञ्चनरुप (घण्टी घर), हनुमाननगर र सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजविराजको घण्टी घरमा कार्यक्रम हुने कार्यतालिका छ। बिहानको कार्यक्रम सकेपछि बालेन डाक्नेश्वरी नगरपालिका र बोधेबर्साइन नगरपालिकामा सहभागी हुनेछन्।
सप्तरीको भ्रमण सकेर बालेन शाह सिरहा प्रवेश गर्नेछन्, जहाँ उनको तालिका निकै व्यस्त रहेको छ। सिरहामा उनले भगवानपुर, नवराजपुर, बरियारपटी, औरही चोक, सुखीपुर जिरोमाइल घण्टी घर, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर बजार र सिराहा बजारमा स्थानीयसँग भेटघाट गर्नेछन्। सिरहाबाट उनी धनुषा प्रवेश गर्ने कार्यक्रम छ। दिउँसो कमला पुल पार गरी तिनकौरिया चोक, यदुकुवा (घण्टी घर), प्रसिद्ध धार्मिकस्थल धनुषाधाम र नगराइनमा सभा तथा भेटघाट गर्नेछन्।
अपराह्न बालेन शाह महोत्तरीको भ्रमणमा हुनेछन्। जलेश्वर (सदरमुकाम, घण्टी घर), एकदरा र बलवा–सर्पल्लोमा स्थानीयसँग भेटघाट पछि उनी साँझ ४ः१० बजे बर्दिबास पुगेर दिनभरको भ्रमण समापन गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ। यस भ्रमणमार्फत रास्वपाले मधेस प्रदेशमा आफ्नो सक्रियता देखाउँदै स्थानीय मतदातासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने उद्देश्य राखेको छ।