काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्न नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन्।
मंगलबार जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनका अनुभवलाई आधार मानेर सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्न र त्यसअनुसार तयारी मजबुत बनाउन आग्रह गरिन्। उनले निर्वाचन अवधिभर कुनै पनि कमजोरी वा लापरबाही स्वीकार्य नहुने स्पष्ट सन्देश दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामहरूको अध्ययन गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढंगले काम गर्नुहोस्।” उनले बदलिँदो राजनीतिक र सामाजिक परिवेशका कारण सुरक्षा चुनौती पनि फरक हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन निर्देशन दिइन्।
उनले विशेष गरी विगतमा देखिएका समन्वयका कमजोरीहरू दोहोरिन नदिन सतर्क रहनुपर्नेमा जोड दिइन्। “यदि अघिल्ला अभ्यासमा सुरक्षा संयन्त्रहरूबीच कतै त्रुटि वा रिक्तता थिए भने अब त्यो अवस्था दोहोरिन दिनुहुँदैन,” उनले भनिन्, “चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सबै निकाय गम्भीर र जिम्मेवार बन्नुपर्छ।”
प्रधानमन्त्रीले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत कमान्ड र समन्वय प्रणाली बलियो भए मात्र मतदाताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्।
बैठकमा उपस्थित सैनिक नेतृत्वलाई उनले आवश्यक तयारी, जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको पहिचान तथा आकस्मिक अवस्थाको प्रतिकार योजना अद्यावधिक गर्न समेत निर्देशन दिएकी थिइन्। निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको विश्वसनीयता कायम राख्नु सम्पूर्ण सुरक्षा निकायको साझा दायित्व भएको उनको भनाइ थियो।
जंगीअड्डामा जारी पृतनापति समन्वयात्मक बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, रणनीति, जोखिम मूल्यांकन र अन्तरनिकाय सहकार्यका विषयमा विस्तृत छलफल भइरहेको सैनिक स्रोतले जनाएको छ। सरकारले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा तयारीलाई तीव्र बनाएको छ।